यस्तो सेवा–सुविधा पाउँछन् प्रमुख प्रशिक्षक गम्भीरले, पहिलो प्रस्ताव नै बीसीसीआईद्वारा अस्वीकार

यस्तो सेवा–सुविधा पाउँछन् प्रमुख प्रशिक्षक गम्भीरले, पहिलो प्रस्ताव नै बीसीसीआईद्वारा अस्वीकार

अर्थ चौतारी

यस्तो सेवा–सुविधा पाउँछन् प्रमुख प्रशिक्षक गम्भीरले, पहिलो प्रस्ताव नै ...

A A- A+

काठमाडौँ । गौतम गम्भीर भारतीय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक बनेका छन् । उनको कार्यकाल जुलाई–अगस्तदेखि प्रारम्भ हुनेछ । टी–२० विश्वकप लगत्तै राहुल द्रबिडको कार्यकाल समाप्त भएकाले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले गम्भीरालाई उक्त जिम्मेबारी दिने निर्णय गरेको हो ।

आखिर कति पाउँछन् त भारतीय टोलीका प्रमुख प्रशिक्षक गम्भीरले पारिश्रमिक ? बीसीसीआई स्रोतका अनुसार प्रमुख प्रशिक्षक गम्भीरले वार्षिक करिब १२ करोड भारतीय रुपैयाँ (करिब १९ करोड नेपाली) पारिश्रमिक पाउने छन् । यसका अतिरिक्त उनले बीसीसीआईबाट आवस सुविधा पनि पाउने छन् । टोलीसँग विदेश भ्रमणमा रहँदा उनले दैनिक करिब २१ हजार भारतीय रुपैयाँ भत्ता पाउने छन् । प्रमुख प्रशिक्षकले विदेश जाँदा बिजनेश क्लासमा यात्रा गर्ने सुविधा पनि पाउँछन् ।
गम्भीर भारतीय टोलीका पूर्वखेलाडी पनि हुन् । उनले सन् २००३ देखि सन् २०१६ सम्म भारतीय टोलीबाट खेलेका थिए । उनले सन् २००३ मा बंगलादेशविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । त्यसको एक वर्षपछि नै उनले अस्ट्रेलियाविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । भारतले सन् २००७ मा टी–२० विश्वकप र सन् २०११ मा एकदिवसीय विश्वकपको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए ।
गम्भीरले आफ्नो सक्रिय खेलजीवनमा ५८ टेस्ट, एक सय ४७ एकदिवसीय अन्तर्राष्ट्रिय र ३७ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार, गौतम गम्भीरको कुल सम्पत्ति दुई सय पाँच करोड भारतीय रुपैयाँ रहेको छ । गम्भीरले जुलाई २७ तारिखमा सुरु हुने भारतीय टोलीको श्रीलंका भ्रमणका क्रममा आफ्नो जिम्मेबारी समाल्नेछन् । श्रीलंका भ्रमणका क्रममा भारतले तीनवटा टी–२० अन्तर्राष्ट्रिय र तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्ने कार्यक्रम रहेको छ ।हाल भारतीय टोली जिम्बाब्बे भ्रमणमा छ । खासमा गौतम गम्भीरले जिम्बाब्बे भ्रमणदेखि आफ्नो जिम्मेबारी समाल्ने प्रस्ताव बीसीसीआई समक्ष राखेका थिए । जिम्बाब्बे भ्रमणमा भारतीय टोलीको प्रमुख प्रशिक्षकको जिम्मेबारी भीभीएस लक्ष्मणले सम्हालेका छन् । लक्ष्मण नेशनल क्रिकेट एकेडेमीका प्रमुख हुन् । गौतम गम्भीर जिम्बाब्बे भ्रमणको बाँकी खेलमा लक्ष्मणको स्थानमा प्रमुख प्रशिक्षक बन्न चाहन्थे । तर, बीसीसीआईले उनको प्रस्तावलाई अस्वीकार गरेको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?